मार्क जुकरबर्गद्वारा 'सुपर इन्टेलिजेन्स' टिमको घोषणा, एजीआई विकासमा मेटाको ठुलो कदम
काठमाडौं – प्रविधि क्षेत्रको अग्रणी कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) विकासमा ठुलो लक्ष्य लिएर आफू प्रत्यक्ष रूपमा नेतृत्व गर्ने घोषणा गरेका छन्। यो पहल सँगै जुकरबर्गले एआई प्रतिस्पर्धामा मेटालाई ओपनएआई र गुगल जेमिनी जस्ता प्रतिस्पर्धीहरूसँग सिधा मुकाबिलामा ल्याएका छन्।
जुकरबर्ग अहिले एक नयाँ ‘सुपर इन्टेलिजेन्स’ टिम बनाउँदै छन्, जुन टिममा उद्योगका उत्कृष्ट एआई वैज्ञानिकहरू र इन्जिनियरहरूलाई भित्र्याउनका लागि नौ–फिगर (करोडौं रुपैयाँ) तलब अफर गरिरहेको ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ। यस टिमको प्रत्यक्ष निगरानी उनी स्वयंले गर्नेछन्।
के हो एजीआई?
आर्टिफिसियल जनरल इन्टेलिजेन्स (AGI) एक उन्नत प्रकारको एआई हो, जसले मानिसझैं मात्र सोच्ने होइन, अझ बढी बौद्धिक, तार्किक र सन्दर्भअनुसार निर्णय लिने क्षमता राख्छ। अहिलेको एआई प्रायः सीमित कार्यहरूमा दक्ष भए पनि एजीआई बहुआयामिक र बहुपरिस्थितिक परिप्रेक्ष्यमा काम गर्न सक्षम हुने लक्ष्यसहित विकास गरिँदैछ।
जुकरबर्गको असन्तुष्टि र सक्रियता
रिपोर्ट अनुसार जुकरबर्ग मेटाको हालको एआई प्रगति (जस्तै Meta AI च्याटबटहरू) बाट सन्तुष्ट छैनन्। यही कारण उनले अब एजीआई परियोजनाको नेतृत्व आफैं लिने निर्णय गरेका छन्। उनी शीर्ष प्रतिभालाई आफ्नो लेक टाहो र पेलो आल्टो निवासमा व्यक्तिगत रूपमा आमन्त्रण गरिरहेका छन्, र अफिसमा समेत संरचनात्मक परिवर्तन गरी सुपर इन्टेलिजेन्स टिम आफ्नै नजिक राख्ने व्यवस्था गरिएका छन्।
गुगल र ओपनएआईसँग सिधा प्रतिस्पर्धा
गुगलको डीपमाइन्ड र ओपनएआईजस्ता कम्पनीहरू एजीआई विकासको दौडमा अगाडि देखिन्छन्। तर मेटाले समेत यस्तै गम्भीर प्रयासहरू गर्दै ‘सर्वश्रेष्ठ मस्तिष्क’हरूलाई आकर्षित गर्दै, अब आफूलाई अग्रपङ्क्तिमा राख्न चाहिरहेको देखिन्छ।
प्रविधि विश्लेषकहरू भन्छन्— “यदि मेटा सफल भयो भने, यसको सुपर इन्टेलिजेन्स परियोजनाले एआईको भविष्य नै पुनः परिभाषित गर्न सक्छ।”
Post a Comment