Header Ads

एसिसी यू–१६ इस्ट जोन कप: नेपालको दोस्रो शानदार जित, जापान ९ विकेटले पराजित

                 एसिसी यू–१६ इस्ट जोन कप: नेपालको दोस्रो शानदार जित, जापान ९ विकेटले पराजित

कोजल टुन्कु जाफर ओभल, मलेसिया — एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो लगातार जित निकाल्दै समूह ‘ए’ मा शीर्ष स्थानमा कब्जा जमाएको छ। मंगलबार सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले सहज पराजय दिएको हो।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले हराएको थियो। लगातार दुई जितसहित नेपालले ४ अंक जोड्दै समूहको शिखरमा छ।

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८० रन बनाएको थियो। कप्तान चार्ली हाराहिन्जेले ३६ रन बनाए भने गबी हाराहिन्जेले १३ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ शुभम् खनालले घातक प्रदर्शन गर्दै ५ विकेट हात पारे। अभय यादवले २ तथा कप्तान विपिनप्रसाद शर्मा र सुशीलबहादुर रावलले एक–एक विकेट लिए।

८१ रनको लक्ष्य पछ्याएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै सजिलै भेट पुरा गर्‍यो। शिवान्स बजगाईंले अविजित ३८ तथा प्रसिद्ध जैसीले अविजित ३३ रन बनाए। जापानका बलर केइसी काबायाशी–डोगेटले एक मात्र विकेट लिए।

समूह ‘ए’ को अवस् था

नेपाल समूह ‘ए’ मा सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानसँग प्रतिस्पर्धा गर्दैछ। जापानले आफ्नो पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो।

नेपालले आगामी खेलमा:

  1. १५ असारमा इन्डोनेसिया
  2. १७ असारमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता पृष्ठभूमि

१० टोली सहभागी प्रतियोगितामा समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल यसअघि सम्पन्न सबै तीन संस्करणको च्याम्पियन हो र चौथो उपाधि लक्ष्यसहित मैदानमा उत्रिएको छ।

No comments