Header Ads

‘रियाल रिंगेट’को टिजर सार्वजनिक, साउन १६ गतेदेखि प्रदर्शनमा

                          ‘रियाल रिंगेट’को टिजर सार्वजनिक, साउन १६ गतेदेखि प्रदर्शनमा

काठमाडौं, असार २ गते — वैदेशिक रोजगारीको यथार्थ चित्रण गर्ने फिल्म ‘रियाल रिंगेट’ को टिजर सार्वजनिक गरिएको छ। निर्देशक विभोर पोखरेलद्वारा निर्देशित यस फिल्मले नेपाली युवाको सपना, संघर्ष, पारिवारिक बिछोड तथा प्रवासमा भोग्नुपर्ने पीडा मार्मिक रूपमा प्रस्तुत गरेको छ।

रेबेल फिल्म्सको ब्यानरमा निर्मित फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो। टिजरमा वैदेशिक रोजगारीको आकर्षक आवरणभित्र लुकेको अँध्यारो पक्ष, षड्यन्त्र र मानवीय पीडालाई मुख्य विषयवस्तु बनाइएको छ।

फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम गुरुङ, रवीन्द्र खड्का, रियर राई लगायतका कलाकारको अभिनय रहेको छ। प्रदीप भारद्वाजले लेखेको कथामा आधारित यो फिल्म साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मको नाम ‘रियाल रिंगेट’ पनि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतार, साउदी अरेबिया र मलेसियाको मुद्राको नामबाट प्रेरित छ। निर्माता गगनलाल प्रधान रहेको फिल्मको छायांकन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो।

फिल्ममा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, तथा किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर रहेको छ। गीतमा रामचन्द्र काफ्ले, केतन क्षेत्री, सुगम पोखरेल र जुनु रिजालको स्वर रहेको छ भने वितरणको जिम्मेवारी काफिया फिल्म्सले लिएको छ।

No comments